
परराष्ट्रमन्त्री आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाका तथा यहाँस्थित भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन् ।
वार्षिक २० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्ने नेपाल-चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज (शुक्रबार) उनले यस्तो निर्देशन दिएकी हुन् ।
यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री राणाले आश्वासन पनि दिइन् । पर्यटन प्रवर्धनका हिसाबले पनि यो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीयस्थल मानसरोवरका लागि सहज हुने भएकाले नाका थप व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो ।
उनले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौं-कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकहरुको पनि स्तरोन्नति गर्न सरकारले आवश्यक पहल गर्ने बताइन् । यस विषयमा उनले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालासँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेको राणाको सचिवालयले जनाएको छ ।