
लामो समयपछि नेपालगन्जमा आयोजना भएको अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रंगशालामा रौनक थपिएको छ ।
बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब ६ वर्षसम्म ठुलो प्रतियोगिता आयोजना हुन नसक्दा अलपत्र अवस्थामा रहेको करोडौँको भौतिक संरचनासहितको नेपालगन्ज रंगशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताए ।
‘लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलका लागि रंगशालालाई चिटिक्क पारिएको छ, आठौँ राष्ट्रिय खेलकुदपछि ठूलो प्रतियोगिता नेपालगन्ज रंगशालामा भएकाले स्थानीय खेलाडी तथा फुटबलप्रेमीमा खुसी छाएको छ,’ अध्यक्ष शाहीले भने, ‘नियमित रुपमा ठुला खेलकुद प्रतियोगिता हुनसके नेपालगन्ज रंगशालाको रौनक अझै बढ्दै जानेछ ।’
अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता भएकाले लुम्बिनी कप महिला फुटबललाई लक्षित गरी केही महिनादेखि नै रंगशालाको सजावट थालिएको थियो । नियमित पानी राख्दा दुबो पलाएर यतिबेला रंगशालामा हरियाली छाएको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजक अन्तरालाका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।
सरसफाइ र मर्मतमा उचित बजेट नहुँदा जीर्ण बन्दै गएको यो रंगशालामा नियमित अभ्यास हुन सकेको थिएन । आठौँ राष्ट्रिय खेलकुदपछि पहिलोपटक लुम्बिनी कप महिला फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएपछि रंगशालामा चहलपहल बढेको साविक मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।
आठौँ राष्ट्रिय खेलकुदका बेला रोपिएको ४० लाख रुपैयाँको बर्मुडा दुबोको नामोनिसान मेटिए पनि दैनिक स्याहार गर्दा स्थानीय दुबो पलाएर अहिले नेपालगन्ज रंगशाला आकर्षक देखिएको । अन्तरालको आयोजना तथा जिल्ला फुटबल सङ्घ बाँकेको सहकार्यमा नेपालगन्ज रंगशालामा शुक्रबार सुरु भई वैशाख १२ गतेसम्म चल्ने ‘लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल’ प्रतियोगितामा आठवटा टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेता समूहले पाँच लाख पाँच हजार ५५५ र उपविजेता समूहले दुई लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्ने आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले जानकारी दिए ।