काठमाण्डौं, वैशाख १३ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन सम्झौताको निकै नजिक पुगेको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प,उनका दूत स्टिभ विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भएको वार्ताको केही घण्टापछि उनको यो प्रतिक्रिया आएको हो ।

ट्रम्पले वार्ताको राम्रो दिन भएको बताएका छन् भने क्रेमलिनले युक्रेन उपस्थित नभएको वार्तालाई रचनात्मक भनेको छ ।

यसअघि ट्रम्पले सामाजिक सञ्जालमा भनेका थिए अधिकांश प्रमुख बुँदामा सहमति भएको छ र रुस र युक्रेनलाई धेरै उच्च स्तरमा भेट्न  आग्रह गरेका थिए।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार अबेर राति आफ्नो भिडियो सम्बोधनमा बिनाशर्त युद्धविराम स्वीकार गर्नका लागि रुसमाथि वास्तविक दबाब आवश्यक रहेको बताएका छन् ।

यसअघि जेलेन्स्कीले यदि पूर्ण र निःशर्त युद्धविराममा सहमति भएमा कीभ र मस्कोबीचको क्षेत्रीय विषयमा छलफल गर्न सकिने बताएका थिए। युक्रेनले अमेरिकी शान्ति प्रस्तावअन्तर्गत रुसले कब्जा गरेको भूमिको ठूलो हिस्सा त्याग्ने अपेक्षा गरिएको छ ।
 
पोप फ्रान्सिसको अन्त्येष्टिका लागि  रोम पुगेका ट्रम्पले सन् २०१४ मा मस्कोले गैरकानुनी रूपमा कब्जा गरेको क्रिमियन प्रायद्वीपलाई सुरक्षित राख्न रुसलाई सहयोग गर्ने बताएका छन् । जेलेन्स्कीले भने यो विचारलाई अस्वीकार गरेका छन्।

रुसले सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो र हाल मस्कोले युक्रेनको करिब २० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राखेको छ ।