काठमाण्डौं, वैशाख १३ :

भारत प्रशासित काश्मिरमा २६ जना पर्यटकको ज्यान जाने गरी भएको आतङ्ककारी हमलापछि तनाव बढेपछि पाकिस्तानले पनि भारत विरुद्ध कडा कदम चालेको छ ।

इस्लामाबादले तत्काल प्रभावका साथ छूट योजना अन्तर्गत भारतीय नागरिकहरूलाई जारी गरिएका सबै भिसाहरू निलम्बन गर्नुका साथै आफ्ना छिमेकीका केही कूटनीतिज्ञहरूलाई निष्कासित गरेको छ ।  भारतीय उडानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।

भारतीय प्रहरीले आक्रमणमा संलग्न चार संदिग्ध बन्दुकधारीमध्ये तीन जनाको नाम सार्वजनिक गर्दै दुई जना पाकिस्तानी नागरिक र एक जना स्थानीय काश्मिरी नागरिक भएको बताएको छ । पाकिस्तानले भने गोली काण्डमा आफ्नो भूमिका रहेको भारतीय दाबीको खण्डन गर्दै आएको छ ।

मंगलबारको आक्रमणमा बन्दुकधारीको एक समूहले विवादित हिमालय क्षेत्रको पहलगाम नजिकै पर्यटकमाथि गोली चलाएको थियो ।

भारत प्रशासित काश्मिरको प्रहरीका अनुसार तीनै जना संदिग्ध पाकिस्तानस्थित लश्कर–ए–तैयबा (एलईटी) का सदस्य हुन् ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोड्ने प्रयासलाई अस्वीकार गर्दै कुनै विश्वसनीय अनुसन्धान वा प्रमाण नभएको बताएको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए,'भारतले हरेक आतङ्ककारी र तिनका समर्थकलाई पहिचान गर्नेछ,ट्र्याक गर्नेछ र दण्ड दिनेछ र हामी उनीहरूलाई पृथ्वीको अन्त्यसम्म पुर्याउनेछौँ ।

उनले हत्यामा संलग्न आतङ्ककारीहरू र उनीहरूका समर्थकहरूले कल्पना गरेभन्दा ठूलो सजाय पाउने बताएका छन् ।

बुधबार साँझ दिल्लीले काश्मिरमा भएको हत्यालाई मध्यनजर गर्दै इस्लामाबादविरुद्ध कूटनीतिक कदम चाल्ने घोषणा गरेको थियो ।

यसैगरी भारतले आक्रमण लगत्तै  पाकिस्तानी नागरिकका लागि भिसा सेवा पनि तत्काल रद्द गरेको छ ।

यसको जवाफमा पाकिस्तानले सिन्धु जल सन्धिलाई भारतले स्थगन गरेको कुरालाई पनि अस्वीकार गरेको छ। दुई देशबीचको छ दशक पुरानो पानी बाँडफाँड सन्धि हो र पानी रोक्ने वा डाइभर्ट गर्ने कुनै पनि प्रयासलाई युद्धको रूपमा लिइने बताएको छ ।

भारतले भारतीय स्वामित्वका वा भारतीय एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ भने भारतसँगको सबै व्यापार स्थगन गरेको छ ।

पाकिस्तानले इस्लामाबादस्थित भारतीय उच्चायोगमा कूटनीतिज्ञको संख्या घटाएर ३० मा झारेको छ भने भारतीय रक्षा, जलसेना र हवाई सल्लाहकारलाई ३० अप्रिल अघि नै पाकिस्तान छाड्न भनेको छ ।