
काठमाडौंबाट झापा आइरहेको प्रदेश १-०१-००१-ख ४२ नम्बरको रात्रिबस झापाको शिवसताक्षी नगरपालिका ९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार आज (शनिबार) बिहान साढे ५ बजे भएको दुर्घटनामा बसमा यात्रारत २२ यात्रु घाइते भएका छन् । घाइतेको उपचार बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल र बी एन्ड सी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।
दुर्घटनामा काठमाडौंमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए ।
जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक छ ।
‘म ड्राइभरको सिट पछाडि नै थिएँ,’ घाइते शिक्षक भण्डारीले भने, ‘अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो। एक्कासि गाडी सडकबाट पल्टियो । मुस्किलले बाँचियो । गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकालेँ ।’
बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको उनले बताए ।