काठमाडौं, वैशाख १४ :

सहकारीको रकम अपचलनको अभियोगमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न  अदालतले अनुमति दिएको छ ।

 काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

शनिबार साँझ पक्राउ परेकी राईलाई आज अदालतमा पेश गरिएको थियो। अदालतको आदेशअनुसार उनलाई हाल काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।

सांसद राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ। यसअघि सहकारी सञ्चालकहरूमाथि अनुसन्धान चलिरहेका बेला राईको संलग्नताबारे समेत अनुसन्धान गर्न सिफारिस गरिएको थियो । 

प्रहरीले अनुसन्धानको प्रारम्भिक चरणमै थप प्रमाण संकलन गर्नुपर्ने जनाउँदै तीन दिनको म्याद माग गरेको थियो ।