
नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले मुलुकको मानसिकता अझै संघीयताको मर्मअनुसार नबनेको बताएका छन्।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सिटौलाले नेताहरुको सोच र व्यवहारमा संघीय लोकतान्त्रिक गणतन्त्रको भावना अझै पनि प्रभावकारी रुपमा नदेखिएको टिप्पणी गरे। उनले नयाँ संविधान जारी भइसके पनि काम गर्ने शैली भने पुरानै रहेको उल्लेख गरे।
‘हाम्रो मानसिकता अझै पनि संघीयता बमोजिम छैन,’ सिटौलाले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावना अनुरूप बन्न सकिएको छैन देशको मानसिक अवस्था।’
उनले प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू अझै पनि बजेटको लागि केन्द्रतिर धाउने प्रवृत्तिबाट मुक्त हुन नसकेको भन्दै यसले केन्द्रीकृत, एकात्मक र सामन्ती सोच झल्काउने दाबी गरे।
सिटौलाले पार्टी संगठनदेखि राज्यका निकायहरू समेत केन्द्रमुखी रहेको आरोप लगाउँदै अब व्यवहारमै परिवर्तन गरेर संघीय प्रणालीको सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।