काठमाडौं, वैशाख १४ :

नेपाली खेलाडी सोहन पाठक र हृदयणी बस्नतेले २१औं वाटा (डब्ल्यूएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

सोहनले पुरुष २४ केजीमुनि र हृदयणीले महिला २९ केजीमुनि स्वर्ण जितेको टोलीका प्रशिक्षक सरोज तामाङले जनाएका छन् ।

जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले थप १ रजत र २ कास्य पनि जिते । महिला ३४ केजीमुनि जोलिना बस्नेतले रजत जितिन् ।

एकल पुम्सेको पुरुष १४ वर्षमुनि आश्रय उपाध्याय तथा १२ वर्षमुनि सक्षम श्रेष्ठले कास्य हात पारे । प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

काजलले यसै प्रतियोगिताको २०औं संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।