
सगरमाथा आधार शिविरमा आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता छाएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन् ।
समुद्री सतहबाट पाँच हजार ३६४ मिटर उचाइमा रहेको आधारशिविर क्षेत्रमा ‘लाउन्ड्री’,क्याफे’,बार’ आदिको व्यवस्थापन गरिएको छ । पाँच सय भन्दा बढी पाल टाँगिएका छन् । आरोही,सहयोगी,कुक,किचन हेल्पर गरी एक हजार तीन सयभन्दा बढी आधार शिविरमा छन् ।
“सगरमाथा आधार शिविर सानो संसारै जस्तो छ,विश्वभरिका मानिस जम्मा भएका छन्”,सगरमाथा आधार शिविरमा रहनुभएका पर्वतारोही लाक्पा शेर्पाले भन्नुभयो, “आधार शिविर विश्वको कुनै एउटा गाउँजस्तो भएको छ । उल्लासमय वातावरण छ ।”
३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएका कामीरिता आफ्नै कीर्तिमानी तोडेर ३१ औ आरोहणका लागि सगरमाथा पुग्नुभएको छ । आधारशिविर रङ्गीचङ्गी पाल र आश्रयस्थलले बेहुली झै सिँगारिएको छ ।
विभिन्न कम्पनीले आरोहीको खाना तथा बास व्यवस्थापनका लागि बनाएका रङ्गी विरङ्गी पालका सजावटले आधारशिविर रमाइलो देखिएको छ ।
केही दिनयता सामाजिक सञ्जालमा चाँदी झैँ टल्किएका सगरमाथासहितका हिमालका तस्बीर र सुन्दरगाउँको भझल्को दिने सगरमाथा आधारशिविरले संसारको ध्यान खिचेको छ । यसले नेपालको साहसिक पर्यटनलाई विश्वबजारमा परिचय दिलाउन मद्दत पुगेको छ ।
लुक्लादेखि सगरमाथा आधार शिविरसम्म पर्वतारोही,पदयात्री र सहयोगीहरुको लामो लस्कर देखिन्छ । सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणका लागि विभिन्न मुलुकबाट आएका आरोहीको जमघटले आधार शिविरको वातावरण उल्लासमय बनेको बताउनुहुन्छ ।
सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने)जिम्मेवारी एटके कम्पनीले पाएको छ । करिब ९० प्रतिशत आरोही सगरमाथा आधार शिविर पुगेको कम्पनीको भनाई छ ।
तेस्रो शिविरसम्म बाटो खुल्यो
यो सिजनमा सगरमाथामा आरोहणका लागि आधार शिविरदेखि तेस्रो शिविरसम्म बाटो खुलिसकेको छ । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन् । अनुकूल मौसमको सदुपयोग गर्दै शेर्पा टोलीले तेस्रो शिविरभन्दा माथि बाटो बनाइरहेका छन् ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (सपीसिसी) ले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो यसअघि नै बनाइसकेको छ । तेस्रो शिविरसम्म बाटो बनेको र अबको १० दिनपछि सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको सुरुआत हुने पर्यटन विभागको अनुमान छ । आरोहण अनुमति लिएका आरोही झण्डै एक महिनादेखि सगरमाथा क्षेत्रमा आरोहण अभ्यासमा छन् ।
सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोही नेपाल आइरहेका छन् । अधिकांश आरोहण अनुमति लिएर सगरमाथा क्षेत्र पुगिसकेका छन् । कतिपय आरोही अनुमतिको प्रक्रियामा छन् । वसन्त ऋतु सगरमाथा आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । पर्यटन विभागले आधार शिविरमा सम्पर्क कार्यालय खोलेर आरोहणको व्यवस्थापन गरिरहेको छ ।
पर्यटन विभागका अनुसार हिजोसम्म सगरमाथा आरोहणका लागि ५३ देशका ४ सय २ जना आरोहीले अनुमति लिएका छन् । विभागका निर्देशक लीलाधर अवस्थीले ४१ आरोही समूहले अनुमति लिएको जानकारी दिनुभयो । त्यसमध्ये ७४ महिला आरोही छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३ सय ३९ पुरुषसहित कूल चार सय १४ जनाले अनुमति लिएका थिए । यसवर्ष विभिन्न हिमाल आरोहणबाट वापत र ६८ करोड ४० लाख रोयल्टी सङ्कलन भएको छ । आरोही आउने क्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ ।
सगरमाथा आरोहणलाई सुरक्षित,व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा,होडबाजी र कीर्तिमानका चाङ लागेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील भए पनि आरोहीले ज्यान नै दाउ लगाएर आरोहण गरिरहेका छन् ।
यो सिजनमा सोलुखुम्बुका टासी ग्याल्जेन शेर्पाले २० दिनमा चारपटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यसहित आरोहणमा निस्कनुभएको छ । सगरमाथा आरोहणको इतिहासमा हालसम्म आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखर टेकिसकेका छन् भने नयाँ नयाँ कीर्तिमान थपिने क्रम जारी छ ।