काठमाण्डौं, वैशाख १५ :

प्रतिनिधिसभा बैठक आज संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दैछ । आजको बैठकका लागि संघीय संसद सचिवालयले विभिन्न ४ वटा सम्भावित कार्यसूची समेत तय गरेको छ ।

आजको बैठकमा  सभामुख देवराज घिमिरे प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् ।  यसैगरी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ पेश गर्ने कार्यसुची समेत सार्वजनिक गरिएको छ ।

यस्तै  संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक,२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने  शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,२०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । मन्त्री पन्तले नै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,२०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसुची समेत संसद सचिवालयले तय गरेको छ ।

राष्ट्रियसभाको बैठक पनि आज दिउँसो सवा १ बजे बस्दैछ ।