काठमाण्डौं, वैशाख १५ :

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ ।

यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी,मधेस,बागमती,गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने कोशी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।