काठमाण्डौं, वैशाख १५ :

उत्तर कोरियाले युक्रेनविरुद्ध रुसका लागि लड्न सेना पठाएको पहिलो पटक पुष्टि गरेको छ ।

प्योङयाङको सरकारी समाचार संस्था केसीएनएको एक रिपोर्टमा प्योङयाङको सेनाले आफ्ना सैनिकले रुसी सेनालाई कुर्स्क सीमा क्षेत्र पूर्ण रूपमा मुक्त गर्न मद्दत गरेको दाबी गरेको छ ।

रुसी चिफ अफ स्टाफ भ्यालेरी गेरासिमोभले रुसी प्रतिआक्रमणका क्रममा उत्तर कोरियाली सेनाको वीरताको प्रशंसा गरेको केही दिनपछि मस्कोले पहिलो पटक सार्वजनिक रूपमा उनीहरूको संलग्नता स्वीकारेको छ ।

उनले मस्कोले देशको पश्चिमी कुर्स्क क्षेत्रमा पूर्ण नियन्त्रण प्राप्त गरेको पनि दाबी गरेका छन् ।

प्योङयाङले गत वर्ष कुर्स्कमा हजारौं सैनिक पठाएको दक्षिण कोरियाली र पश्चिमी गुप्तचर निकायले लामो समयदेखि बताउँदै आएका छन् ।

केसीएनएका अनुसार प्योङयाङ र मस्कोबीच भएको पारस्परिक प्रतिरक्षा सन्धिअनुसार सेना तैनाथ गर्ने निर्णय गरिएको हो ।
उत्तर कोरिया र रुसले कुर्स्कमा आफ्नो गठबन्धन र भ्रातृत्व प्रदर्शन गर्दै रगतले प्रमाणित गरेको मित्रताले सम्बन्धलाई हरेक किसिमले विस्तार गर्न ठूलो योगदान पुर्याउने बताएका छन् ।

केसीएनएले कुर्स्कमा उत्तर कोरियाली सेनाको मिसन सकिएपछि के हुने भन्ने बारे भने केही बताएको छैन ।

किम र पुटिनबीचको द्विपक्षीय सम्बन्ध प्रगाढ भएपछि गत अक्टोबरमा उत्तर कोरियाली सेना तैनाथ गरिएको समाचार सार्वजनिक भएको थियो । यसमा एक सम्झौतामा हस्ताक्षर गरिएको थियो जहाँ रुसका नेता भ्लादिमिर पुटिन र किम दुवैले एक अर्कालाई समर्थन गर्न सहमत भएका थिए । उत्तर कोरियाबाट पठाइएका ११ हजार सैनिकमध्ये कम्तीमा एक हजार सैनिक तीन महिनाको अवधिमा मारिएको समाचार छ ।

स्टॉर्म कोर भनिने एलिट युनिटबाट गएका उत्तर कोरियाली सैनिकहरू आधुनिक युद्धको  लागि तयार नभएको बताइएको छ।