
कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ ।
अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा हिजो हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने,सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली हिजो नै घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको र त्यहाँबाट पैदल पाँच घण्टाभन्दा बढी समय लाग्ने भएकाले आज दिउँसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुने बताईएको छ ।
नेपाल पर्यटन बोर्ड र गाउँपालिकाकाको संयुक्त लगानीमा पदमार्ग निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ ।