
भारतले पाकिस्तानसँग आफ्नो सम्बन्ध कम गर्न धेरै उपायहरूको घोषणा गरेको छ । जसमा जल पहुँच सन्धि निलम्बन गर्ने र आतंकवादी हमलापछि आफ्नो एक मात्र भूमि सीमा नाका बन्द गर्ने समावेश छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता २६ जनाको ज्यान जाने गरी भएको आक्रमणको कठोर जवाफ दिने प्रतिबद्धता जनाएपछि भारतीय नौसेनाले आइतबार लामो दूरीको सटीक आक्रामक क्षेप्यास्त्र परीक्षण गरेको छ ।
भारत प्रशासित काश्मिरको लोकप्रिय पर्यटकीय स्थल पहलगाममा भएको सन्दिग्ध आतङ्ककारी आक्रमण विवादित क्षेत्रका सर्वसाधारणमाथिको सबैभन्दा घातक आक्रमण हो ।
काश्मिरलाई विभाजन गर्ने नियन्त्रण रेखा एलओसीमा भारत र पाकिस्तानका सैनिक बीच लगातार तेस्रो दिन पनि गोली हानाहान भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले अप्रिल २२ मा भएको आक्रमणको दोष पाकिस्तानलाई दिएका छन् तर पाकिस्तानी संलग्नताको कुनै प्रमाण भने सार्वजनिक गरेका छैनन् ।
पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले हालै भएको आतंकवादी हमलासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार भारतीय सेनाले काश्मिरमा आतंकवादसँग जोडिएको आशङ्कामा १५ सयभन्दा बढी युवालाई हिरासतमा लिएको वा सोधपुछ गरेको छ ।
त्यसको जवाफमा पाकिस्तानले भारतीय कूटनीतिज्ञहरूलाई निष्कासित गरेको छ ।भारतीय नागरिकहरूको लागि धेरै प्रकारका भिसा रद्द गरेको छ भने भारतीय एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।
पाकिस्तानका रेलमन्त्री हनीफ अब्बासीले पाकिस्तानको आणविक अस्त्र भारतका लागि मात्र लक्षित रहेको बताएका छन् ।
पाकिस्तान र भारत दुवैसँग आणविक हतियार छ जसका कारण संयुक्त राष्ट्रसंघले ती देशहरूलाई अधिकतम संयम प्रदर्शन गर्न आग्रह गरेको छ।
सन् १९४७ मा मुस्लिम बाहुल्य पाकिस्तान र हिन्दू बाहुल्य भारतमा विभाजन भएपछि काश्मिर द्वन्द्वको केन्द्रबिन्दु बनेको छ । सन् १९४७ को अक्टोबरमा हिन्दू राजा हरि सिंहको शासन रहेको मुस्लिम बाहुल्य क्षेत्र काश्मिरको नियन्त्रणलाई लिएर दुई देशबीच युद्ध भएको थियो । सन् १९४८ मा पहिलो युद्ध समाप्त हुँदा दुवै नयाँ स्वतन्त्र राष्ट्रहरूले यस क्षेत्रको केही भाग आफ्नो नियन्त्रणमा लिएका थिए।
भारत र पाकिस्तानबीच सन् १९६५ मा र सन् १९ मा कश्मीरलाई लिएर थप दुई युद्ध भएको थियो । सन् २०१९ मा पाकिस्तानस्थित समूह जैश–ए–मोहम्मदले गरेको आक्रमणमा ४० भारतीय सैनिकको मृत्यु भएपछि तनाव बढेको थियो । अन्तर्राष्ट्रिय मध्यस्थताको माध्यमबाट यो संकट लाई कम गरिएको थियो।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पहलगाम आक्रमणको स्वतन्त्र छानबिनका लागि समर्थन जनाएका छन् । उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, उनको देश यस क्षेत्रमा शान्ति चाहन्छ र भारत–पाकिस्तान तनाव कम गर्न मद्दत गर्न इरानको प्रस्तावको पनि स्वागत गर्दछ ।
सरिफले इरान आतंकवादी हमलाको अनुसन्धानमा सहभागी हुन इच्छुक रहेको पनि बताएका छन् ।