
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा अस्थायी युद्धविरामको घोषणा गरेका छन् ।
क्रेमलिनले मे ८ को बिहानदेखि मे ११ सम्म युद्धविराम जारी रहने बताएको छ जुन दोस्रो विश्वयुद्धको अन्त्यको उपलक्ष्यमा विजय उत्सवको साथ हुने बताईएको छ ।
पुटिनले जारी गरेको विज्ञप्तिमा मानवीय दृष्टिकोणका आधारमा युद्धविरामको घोषणा गरिएको समेत उल्लेख गरेको छ ।
यसलाई युक्रनले पछ्याउने कुरामा रुस विश्वस्त रहेको जनाउदै युक्रेनी पक्षद्वारा युद्धविरामको उल्लङ्घन गरे रूसी संघको सशस्त्र बलले पर्याप्त र प्रभावकारी प्रतिक्रिया दिने समेत विज्ञप्तिमा उल्लेख छ ।
रुसी पक्षले युक्रेनी संकटको मूल कारणलाई समाप्त गर्ने र अन्तर्राष्ट्रिय साझेदारहरूसँग रचनात्मक अन्तरक्रिया गर्ने उद्देश्यले बिना कुनै पूर्वशर्त शान्ति वार्ताका लागि आफू तयार रहेको पुनः एकपटक घोषणा गरेको छ।
युक्रेनले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
क्रेमलिनले इस्टरमा ३० घण्टे युद्धविरामको घोषणा गरेको थियो,तर दुवै पक्षले लडाइँमा कमी आएको बताए पनि उनीहरूले एकअर्कामाथि सयौं उल्लङ्घन गरेको आरोप लगाएका थिए।
रुस–युक्रेन शान्ति वार्ताका लागि अमेरिकाले अति महत्वपूर्ण हप्ताका रुपमा व्याख्या गरेको बेला यो घोषणा आएको हो ।
वासिङ्टनले दुई पक्षबीच सम्झौता गर्ने प्रयास गरिरहेको छ । तर ट्रम्प प्रशासनले प्रगति नदेखे पछि हट्ने धम्की समेत दिएको छ ।
रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण रूपमा आक्रमण सुरु गरेको थियो । २०१४ मा मस्कोले कब्जा गरेको दक्षिणी क्रिमिया प्रायद्वीप सहित युक्रेनको लगभग २० प्रतिशत भूभागलाई नियन्त्रणमा लिएको छ ।
सन् २०२२ यता चारैतिरबाट लाखौं मानिस मारिएको वा घाइते भएको अनुमान गरिएको छ ।