म्याग्दी, वैशाख १६ :

म्याग्दीको बेनी नगरपालिका ७, मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी पत्नीको हत्या गरेका छन् ।

पर्वतको जलजला गाउँपालिका ३, पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोल बस्ने राजु विकले मंगलबार बिहान दाउरा प्रहार गर्दा २७ वर्षीया पत्नी भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका २ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको पौडेलले जनाए ।

घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेका भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।