
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको १ सय औं दिन लाई चुनावी शैलीमा सम्बोधन गर्दै आफ्ना उपलब्धीहरुको चर्चा र राजनीतिक शत्रुहरुलाई लक्षित गर्दै मनाएका छन् ।
मिशिगनमा समर्थकहरूको भीडलाई सम्बोधन गर्दै उनले आफ्नो राष्ट्रपतिपदलाई गहन परिवर्तनको दिनका लागि प्रयोग गरिरहेको बताएका छन्।
रिपब्लिकनले आफ्ना डेमोक्र्याटिक पूर्ववर्ती जो बाइडनको खिल्ली उडाएका थिए भने अमेरिकी फेडरल रिजर्भका अध्यक्षको नयाँ आलोचना समेत गरेका थिए।
ट्रम्पले आफु राष्ट्रपति भएपछि गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्यामा नाटकीय रुपमा गिरावट ल्याएका छन् तर अन्तर्राष्ट्रिय व्यापार युद्धको कारण अर्थव्यवस्थामा भने राजनीतिक कमजोरी भएको विश्लेषण गरिएको छ ।
डेट्रोइटको उपनगरमा मंगलबार आयोजित भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने "हामीले भर्खर सुरु गरेका छौं,तपाईंले अहिलेसम्म केही देख्नुभएको छैन ।"
आफ्नो र्यालीमा ट्रम्पले आफ्नो लोकप्रियता घट्दै गएको भन्ने जनमत सर्वेक्षण नक्कली भएको समेत बताएका छन्।
ग्यालपका अनुसार ट्रम्प दोस्रो विश्वयुद्धपछिका एक मात्र राष्ट्रपति हुन् जसलाई सय दिनको कार्यकालपछि आधाभन्दा कम जनताको समर्थन प्राप्त भएको छ।
तर अधिकांश रिपब्लिकन मतदाताले अझै पनि राष्ट्रपतिलाई समर्थन गरेका छन् ।