काठमाण्डौं, वैशाख १७ :

आज अन्तरराष्ट्रिय ज्याज दिवस हो ।

विभिन्न वाद्ययन्त्रहरूको सुमधुर धुनयुक्त ज्याज सङ्गीत २०औँ शताब्दीको सुरुदेखि प्रचलनमा आएको हो । पश्चिमा मुलुकमा युवापुस्तामाझ यो सङ्गीत लोकप्रिय छ ।

सन् २०११ को नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक,वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को महासभाले एप्रिल ३० लाई अन्तरराष्ट्रिय ज्याज दिवसका रूपमा मनाउने घोषणा गरेअनुरुप आज यो दिवस विश्वभर मनाइन्छ ।

अन्तरसांस्कृतिक संवाद,मानवअधिकार र मानव मर्यादाको सम्मान,भेदभाव उन्मूलन,अभिव्यक्ति स्वतन्त्रता तथा लैङ्गिक समानता प्रवर्द्धन र सामाजिक परिवर्तनका लागि युवाहरूको भूमिकालाई सुदृढ पार्न यो दिवस मनाइन्छ ।

यो अन्तरराष्ट्रिय दिवसले विश्वभरका समुदाय,विद्यालय,कलाकार,इतिहासकार,शिक्षाविद् र ज्याज उत्साहीहरूलाई ज्याज कला,यसको उद्गम,भविष्य र  प्रभावका बारेमा जान्ने अवसर प्रदान गर्नाका साथै अन्तरराष्ट्रिय शान्ति तथा संस्कृति प्रवर्द्धनमा योगदान पुग्ने युनेस्कोको विश्वास छ ।

ज्याजले एकता,पारस्परिक समझदारी र सहिष्णुताका लागि अवसर सृजना गर्ने,सीमान्तकृत समाजका युवालाई सशक्त बनाउने,परम्परागत सङ्गीतलाई नयाँ रूपमा प्रस्तुत गर्न प्रोत्साहित गर्न योगदान पुग्ने युनेस्कोले जनाएको छ ।