वैशाख १७ :

डोटीको जोरायल  गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गएराति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका चिकित्सकले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए ।  

बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी,४४ वर्षीय जगदीश जोशी,५३ वर्षीय रामबहादुर नेगी,६५ वर्षीया धना नेगी,२८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन् ।

घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।