
अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ ।
युक्रेनको दुर्लभ भू–खनिजपदार्थमा अमेरिकालाई पहुँच दिने सम्झौतालाई लिएर कीभ र वासिङ्टनबीच महिनौंदेखि वार्ता जारी छ । ट्रेजरी डिपार्टमेन्टको बाह्य एक प्रेस विज्ञप्तिअनुसार यसलाई दुई देशले पुनर्निर्माण लगानी कोषको रूपमा वर्णन गरेको छ।
यस सम्झौताले दुवै देशबीच पारस्परिक सम्पत्ति, प्रतिभा र क्षमताहरु सुनिश्चित गर्न सहयोग गर्नेछ भनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि दुवै पक्षले केही अन्तिम क्षणमा परिवर्तन गरेका थिए । युक्रेनले पहिले नै सहमति जनाइसकेका केही खास बुँदाहरू पुनः खोल्न प्रयास गरेको थियो।
प्रारम्भिक सम्झौता फेब्रुअरीमा हस्ताक्षर हुने तय भएको भएपनि अमेरिकी राष्ट्रपति ट्रम्प र उनका युक्रेनी समकक्षीबीच चर्काचर्की भएपछि यो सम्झौता असफल भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूजनेसन नेटवर्कको टाउन हलमा खनिज सम्झौताबारे पहिलो पटक सार्वजनिक टिप्पणी गरेका छन् ।उनले यो सम्झौताले अमेरिकाले युद्धमा अहिलेसम्म खर्च गरेको रकमको प्रतिफल को प्रतिनिधित्व गर्ने बताएका छन् ।
बाइडनले युक्रेनलाई ३५० अर्ब हस्तान्तरण गरेका छन ट्रम्पले भने तर अहिले हामीले यस्तो सम्झौता गरेका छौं जहाँ हामीले ३५० अर्ब डलरभन्दा सैद्धान्तिक रुपमा धेरै रकम प्राप्त गर्न सक्छौं ।
ट्रम्पले अमेरिकाले युक्रेनको सहायताका लागि ३५० अर्ब अमेरिकी डलर खर्च गरेको दाबी गरेका छन् । तर बिबिसीले गरेको विश्लेषणअनुसार वास्तविक रकम निकै कम छ ।
यसैबीच बेलायतका विदेशमन्त्री डेभिड लामीले दुई देशबीचको आर्थिक साझेदारीलाई स्वागत गर्ने बताएका छन् । युक्रेनलाई बेलायतको समर्थन कायमै छ उनले भने हाम्रो १ सय वर्षको साझेदारीका साथ हामी दुवै देशका भावी पुस्ताका लागि आर्थिक र सुरक्षा सम्बन्धलाई प्रगाढ बनाउँदैछौं ।
लामीले युक्रेनमा युद्धविरामको समर्थन गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग यस क्षेत्रमा शान्ति ल्याउने विषयमा कुरा गरेको घोषणा समेत गरेका छन् ।
युक्रेनको तर्फबाट सम्झौतामा हस्ताक्षर गर्ने प्रथम उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सामाजिक सञ्जालमा यसका प्रावधानहरू सूचीबद्ध गरेकी छिन्।
युक्रेनी भाषामा एक्समा पोस्ट गर्दै उनले भने कि सम्झौताले खनिज,तेल र ग्याँसमा युक्रेनी परियोजनाहरूमा पश्चिमी लगानी आकर्षित गर्न मद्दत गर्न पुनर्निर्माण लगानी कोष स्थापना गर्दछ। उनी भन्छिन् “ स्रोतहरू युक्रेनको सम्पत्ति रहनेछ र कीभले निकासी कहाँ गर्ने भनेर छनौट गर्नेछ। साझेदारी ५०/५० को आधारमा बराबर हुने र सम्झौतामा अमेरिकालाई कुनै ऋण दायित्व समावेश छैन ।अमेरिकाले युक्रेनमा परियोजनाहरूमा लगानी र प्रविधि आकर्षित गर्न मद्दत गर्न भूमिका खेल्नेछ। यसको बदलामा अमेरिकाले किभलाई युक्रेनका लागि हवाई प्रतिरक्षा प्रणाली लगायतमा नयाँ सहयोग गर्नेछ ।”