काठमाण्डौं, वैशाख १८ :

पाकिस्तानको गुप्तचर संस्था आईएसआईका प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद असिम मलिकलाई  राष्ट्रिय सुरक्षा सल्लाहकारको अतिरिक्त भूमिका दिइएको छ ।

गत अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । द एक्सप्रेस ट्रिब्युनले स्रोतलाई उद्धृत गर्दै मलिकको नयाँ जिम्मेवारी पुष्टि गर्दै एक औपचारिक सूचना समेत जारी गरिएको जनाएको छ ।

उनले गत वर्ष सेप्टेम्बरमा आईएसआईको नेतृत्व सम्हालेका थिए । पहलगाम आक्रमणपछि पाकिस्तानले भारतको सम्भावित प्रतिशोधबारे चिन्ता व्यक्त गर्दै आएको छ । सूचना मन्त्री अताउल्लाह तरारले विश्वसनीय गुप्तचर सूचनाको हवाला दिँदै भारतले २४ देखि ३६ घण्टाभित्र आक्रमण गर्न सक्ने बताएका छन् । उनले एक्समा चेतावनी दिँदै कुनै पनि आक्रामक कार्यले निर्णायक प्रतिक्रियालाई उक्साउने चेतावनी दिएका थिए र परिणामका लागि भारतलाई जवाफदेही बनाइएको थियो।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ आक्रमणपछि भारतको बयानबाजीको आलोचना गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । रक्षामन्त्री ख्वाजा आसिफले पनि भारतीय सेनाको आक्रमण हुनसक्ने बताएका छन् । उनले पाकिस्तान उच्च सतर्कतामा रहेको र आफ्नो अस्तित्व प्रत्यक्ष खतरामा परेको खण्डमा मात्र आणविक हतियारको प्रयोगबारे विचार गर्ने बताएका छन् ।

पहलगाम आक्रमणपछि भारतको कडा प्रतिक्रियाले पाकिस्तानको सैन्य र नागरिक नेतृत्व दुवैलाई अस्थिर बनाएको छ । त्यसको जवाफमा इस्लामाबादले प्रमुख अन्तर्राष्ट्रिय राजधानीहरूमा अधिकारीहरू तैनाथ गरेको छ । लडाकूको सम्पत्ति लुकाउन लगाएको छ र आफ्नो सीमा स्थितिलाई बलियो बनाएको छ। प्रतिबन्धित लश्कर–ए–तैयबासँग सम्बन्धित प्रोक्सी समूह रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले सुरुमा पहलगाम आक्रमणको जिम्मेवारी लिएको थियो तर पछि पाकिस्तानको रक्षा प्रतिष्ठानको दबाबमा उक्त दाबी फिर्ता लिएको थियो ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्याबिनेट मन्त्रीहरू र सैन्य नेताहरूसँग नियमित सुरक्षा ब्रिफिङ गरिरहेका छन्। उनले आक्रमणका लागि जिम्मेवार व्यक्ति र उनीहरूका समर्थक जहाँ भए पनि पत्ता लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस घटनापछि भारतले पाकिस्तानसँगको कूटनीतिक सम्बन्धलाई घटाएको छ र सिन्धु जल सन्धि निलम्बन गर्ने,पाकिस्तानी सैन्य सहचारीहरूलाई निष्कासित गर्ने,पाकिस्तानी एयरलाइन्सलाई भारतीय हवाई क्षेत्र बन्द गर्ने र अटारी-वाघा सीमा नाका बन्द गर्ने लगायतका विभिन्न कार्यहरू गरेको छ। पाकिस्तानले सिमला सम्झौता स्थगन गरेको छ । 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकरलाई टेलिफोन गरी क्षेत्रीय तनाव कम गर्न पाकिस्तानसँग सहकार्य गर्न आग्रह गरेका छन् । भारत प्रशासित काश्मिरमा पहलगाममा भएको आक्रमणपछि बढ्दो शत्रुताका बीच यो वार्ता भएको हो ।

रुबियोले यस घटनामा ज्यान गुमाएकामा गहिरो दुःख व्यक्त गर्दै भारतसँग आतङ्कवादविरुद्धको सहकार्यका लागि संयुक्त राज्य अमेरिका प्रतिबद्ध रहेको दोहोर्याए । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टामी ब्रुसले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले दक्षिण एसियामा शान्ति कायम गर्ने आफ्नो इच्छा दोहोर्याएका छन् ।

रुबियोले यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफसँग गरेको टेलिफोन वार्ता गरेका थिए ।  प्रधानमन्त्री शहबाजले शान्तिपूर्ण समाधानको आवश्यकतामा जोड दिँदै भारतको उत्तेजक व्यवहारको निन्दा गरे ।

रुबियोले यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न संयुक्त प्रयास महत्वपूर्ण रहेको बताउँदै दुई देशबीच निरन्तर संलग्नताको महत्वमा जोड दिए । आणविक शक्ति सम्पन्न दुई छिमेकी मुलुकबीचको तनाव कम गर्न अमेरिकाले सन्तुलित भूमिका निर्वाह गरिरहेको देखिन्छ ।