काठमाडौं, वैशाख १८ :

शिक्षक र सरकार महासंघबीच भएको सहमतिप्रति शिक्षकहरूले असन्तुष्टि जनाएका छन् ।

आन्दोलनको मूल माग हाताहाती शिक्षक सेवा ऐन ल्याउनुपर्ने रहेकोमा, ऐनबिनै सहमतिमा पुगिएको भन्दै उनीहरूले तीव्र असन्तुष्टि जनाएका छन्।

चैत २० देखि काठमाडौंमा सुरु गरिएको आन्दोलन बुधबार भएको सहमतिसँगै अन्त्य गरिएको घोषणा गरिए पनि आन्दोलनमा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्ले उक्त सहमतिलाई अस्वीकार गरेको छ।

परिषद्को राष्ट्रिय समितिले एक विज्ञप्ति जारी गर्दै सहमति र आन्दोलन फिर्ताको निर्णयप्रति असहमति जनाउँदै महासंघको कडा आलोचना गरेको हो।

‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता तथा फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्ण असहमति रहेको जानकारी गराउँदै, परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

शिक्षक सेवा ऐनको मागसहित सुरु भएको आन्दोलन सरकारले समयमै कानुन नल्याउने अवस्था दोहोरिएको भन्दै शिक्षकहरू आक्रोशित छन्। धेरै शिक्षकहरूले सामाजिक सञ्जालमार्फत पनि महासंघमाथि प्रश्न उठाएका छन्।