काठमाण्डौं, वैशाख १८ :

राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालन हुने कक्षा १२ को वार्षिक परीक्षाका बारेमा बोर्डको लोगो प्रयोग गरी अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज बोर्डले एक विज्ञप्ति जारी गर्दै बोर्डको आधिकारिक अन्य कुनै फेसबुक पेज नभएको समेत जनाएको छ । बोर्डको आधिकारिक सूचना आफ्नो वेभसाईट https://neb.gov.np मार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा पनि सो मार्फत नै आधिकारिक सूचना प्रवाह गरिने विज्ञप्ति मार्फत जनाएको छ । बोर्डको सूचना प्राप्त गर्न अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपरी बोर्डको आधिकारिक वेभसाईट मार्फत प्रवाह हुने सूतनाबाट मात्रै जानकारी लिनुहुन समेत बोर्डले अनुरोध गरेको छ ।

साथै बोर्डले आज एक विज्ञप्ति जारी गर्दै भ्रमका पछि नलाग्न र  यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म तोकिएकै समयमा परीक्षा सञ्चालन हुने जानकारी समेत गराएको छ  ।

परीक्षा सञ्चालनका सम्बन्धमा सम्बन्धित निकायहरूलाई यस पूर्व नै आवश्यक पत्राचार गरिसकिएकोले सम्बन्धित निकायहरूबाट परीक्षा सञ्चालनको पूर्व तयारीका बाँकी सम्पूर्ण कार्यहरू सम्पन्न गर्न समेत आग्रह गरिएको छ ।  

यसअघि वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुने भनिएपनि देशभरका शिक्षकहरु काठमाडौँमा  आन्दोलनमा भएकाले बोर्डले सूचना जारी गर्दै वैशाख २१ गतेदेखि सञ्चालन हुने जानकारी गराएको थियो । 
शिक्षक र सरकारबिच हिजो ९ बुँदे सहमति भएपछि शिक्षकहरुले आजबाट आन्दोलन स्थगित गरिसकेका छन् । तर विद्यालयका कर्मचारीहरुले भने असन्तुष्टि व्यक्त गरेका छन् ।