
सरकारले ल्याएको आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम आज (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
बैठकमा सहभागी हुन सबै सांसद, उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ ।
संयुक्त बैठकपछि दुवै सदनमा छुट्टाछुट्टै बैठक बस्नेछ । ती बैठकमा राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरिनेछ । सम्बोधनको प्रतिलिपि संसद्मा टेबुल गरिनेछ ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पनि बैठकमा वाचन गरिने सम्भावित कार्यसूचीमा छ ।