
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा यही वैशाख २२ र २३ गते छलफल हुने भएको छ ।
राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि छलफल गर्न उक्त दिन निर्धारण गरिएको जानकारी गराए । उनले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वका आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक दिनअगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन आग्रह गरे ।
अध्यक्ष दाहालले नीति तथा कार्यक्रममाथि संशोधन राख्न चाहने सदस्यले सोको सूचना यही वैशाख २१ गते बिहान ११ देखि अपराह्न २ बजेभित्र राष्ट्रियसभाको कार्यव्यवस्था शाखामा उपलब्ध गराउन सक्ने पनि जानकारी दिए । राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख २१ गते बस्नेछ ।