काठमाण्डौं, वैशाख २० :

आज ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवस । प्रत्येक वर्ष मे ३ का दिन औपचारिक रुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।  

आज नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाईदैछ ।

नामिवियाको विण्डहक सहरमा सन १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले मे ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र संघको आव्हानमा १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो ।

सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता दिवसमा यूनेस्कोले संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा एक विशेष वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दैछ । २०२५ को मे ३ मा संयुक्त राष्ट्र महासभाले प्रेस स्वतन्त्रताको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको ३२ वर्ष पूरा हुँदैछ । युनेस्कोले यस वर्ष अर्थात २०२५ का लागि टाइम टु पुट एआई अन द सोसल एजेण्डा भन्ने विषय (थिम) तय गरेको छ । यसको अनौपचारिक अनुवाद एआई (कृत्रिम बौद्धिकता)लाई सामाजिक एजेण्डाका रुपमा राख्ने समय आएको छ भनेर गर्न सकिन्छ ।

यो दिवस मनाउने सन्दर्भमा युनेस्कोले प्रत्येक वर्ष विषय वा नारा थिम तय गर्दछ र वर्षभरि नै त्यो नारासँग सम्बन्धित गतिविधि स्वयंले पनि आयोजित गर्दछ र अन्य राज्य तथा नागरिक संघ संस्थालाई पनि वहसमा आधारित गतिविधि सञ्चालन गर्न प्रोत्साहित गर्दछ । यो विषय अर्थात् नारा स्वयंमा निकै महत्वपूर्ण मात्र छैन विगतको तुलनामा अर्थपूर्ण पनि छ । विशेष गरी इन्टरनेटको विकास भएपछिका दिनमा सञ्चार र पत्रकारिता क्षेत्रमा प्रविधिको हस्तक्षेप बढेको छ र यसका राम्रा नराम्रा दुवै प्रभाव यस क्षेत्रमा अनुभूत गरिएको छ भन्दा अतिशयोक्ति हुँदैन ।

नेपालमा सरकारी स्तरबाट नमनाइए पनि गैरसरकारी स्तरबाट भने यहाँ यो दिवस सन १९९५ देखि नै मनाउन थालिएको हो । यसै दिवसको अवसर पारेर सञ्चार र पत्रकारितासँग सम्बन्धित विभिन्न संघ संस्थाले विविध कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।

मे ३ ले सरकारहरूलाई प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्नुपर्ने आवश्यकताको स्मारकको रूपमा कार्य गर्दछ । यो दिन प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकताका मुद्दाहरूका बारेमा सञ्चारकर्मीहरूबिच प्रतिबिम्बित गर्ने दिन पनि हो । त्यस्तै महत्त्वपूर्ण रूपमा, विश्व प्रेस स्वतन्त्रता दिवस प्रेस स्वतन्त्रताको संयम वा उन्मूलनका लागि लक्षित मिडियालाई समर्थन गर्ने दिन हो।

विश्व प्रेस स्वतन्त्रता दिवसले नीति निर्माता,पत्रकार,मिडिया प्रतिनिधि,साइबर सुरक्षा प्रबन्धक र कानुनी विज्ञहरू जस्ता सरोकारवालाहरूलाई यी मुद्दाहरूको अन्वेषण गर्न र प्रेस स्वतन्त्रता र गोपनीयतामा बढेको निगरानीले उत्पन्न हुने खतराहरूलाई सम्बोधन गर्न ठोस समाधानहरू विकास गर्न बल पुग्नेछ ।