काठमाडाैं, वैशाख २० :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई संस्थाभित्र राजनीति नगरी एकताका साथ अघि बढ्न आग्रह गरेकी छन्। शनिबार राजधानीमा आयोजित एनआरएनए उच्चस्तरीय समितिको एकता महाधिवेशनमा बोल्दै उनले सङ्घको मूल उद्देश्यमा केन्द्रित भएर काम गर्न सहभागीहरूलाई आग्रह गरिन्।

‘एनआरएनए राजनीति गर्ने संस्था होइन,’ मन्त्री राणाले स्पष्ट पार्दै भनिन्,‘तपाईंहरू राजनीतिक दलमा सक्रिय हुन सक्नुहुन्छ, तर संघको उद्देश्य पूर्तिका लागि निःस्वार्थ भावनाले प्रेरित भएर एकतामा जुट्न आवश्यक छ।’

उनका अनुसार पछिल्लो समय एनआरएनएभित्र देखा परेको विवादलाई सर्वोच्च अदालतको आदेशअनुसार भएको एकता महाधिवेशनमार्फत सम्बोधन गर्न खोजिनु सकारात्मक पहल हो। उनले यस्तो प्रयासमा भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै यसलाई सफल बनाउन सबैको एकजुटता अपरिहार्य रहेको बताइन्।

‘संस्था र राष्ट्रभन्दा ठूलो केही हुँदैन भन्ने भावना तपाईंहरूमा भएकै कारण आजको एकता महाधिवेशन सम्भव भएको हो,‘ मन्त्री राणाले भनिन्, ‘यहाँ राजनीति गरेर कोही मन्त्री वा प्रधानमन्त्री बन्ने होइन, विदेशमा रहेका नेपालीको हित र नेपालको प्रगतिको लागि तपाईंहरूको योगदान हो।’

मन्त्री राणाले विदेशमा रहेर नेपालीहरूले मुलुकप्रति देखाएको निष्ठा र नेपाली भाषा, संस्कृति तथा पहिचानको प्रवर्द्धनमा पुर्‍याएको योगदानको प्रशंसा गरिन्। उनले प्रविधि, व्यवस्थापन र पुँजीको अभाव झेलिरहेको नेपालमा गैरआवासीय नेपालीको लगानी र ज्ञान सहयोग अमूल्य हुने भन्दै आर्थिक सुधारको यात्रामा सहकार्यको खाँचो औंल्याइन्।

‘नेपालसँग स्रोतसाधन छ, तर प्रविधि, पूँजी र व्यवस्थापकीय क्षमताको अभाव छ,‘ उनले भनिन्,‘त्यसको पूर्ति गर्न तपाईंहरू सक्षम हुनुहुन्छ।’

कार्यक्रममा मन्त्री राणाले परराष्ट्र मन्त्रालयले नेपाली डायस्पोरासँग सम्बन्ध बलियो बनाउनका लागि छुट्टै एकाइ गठन गरिसकेको र त्यसमार्फत सेवा तथा सहजीकरणको काम भइरहेको जानकारी दिइन्।

एनआरएन कार्डसम्बन्धी मस्यौदा तयारी भइरहेको जनाउँदै उनले त्यसमा गैरआवासीय नेपालीहरूका लागि बढीभन्दा बढी सुविधा समावेश गर्ने प्रयास भइरहेको उल्लेख गरिन्।