
विश्वले बेहोरिरहेका तीनवटा संकटसँग जुध्नका लागि युवाहरू तयार हुनुपर्नेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जोड दिएका छन् ।
कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘युथ भिजन २०३५ मा युवा सरोकार’ विषयक नीतिगत छलफललाई सम्बोधन गर्दै यस्तो जनाएका हुन् ।
‘तीन सकंट भनेका जैविक विविधता, जलवायु परिवर्तन र प्रदूषण हुन् । विश्वले यी तीन विषयलाई महासंकटका रुपमा लिइरहेको छ । यी तीन वियको सन्तुलनमा ध्यान नदिएमा भोलि विश्वले महासंकट बेहोर्नुपर्ने हुनसक्छ । त्यसैले विश्वले यी विषयमा सन्तुलन राख्न ग्लोबल पोलिसी निर्माण आजको आवश्यकता हो । युवापुस्ता यो संकटसँग जुध्न सचेत हुनुपर्छ,’ उनले भने ।
प्राकृतिक र जैविक विविधता सन्तुलन नै अहिले आवस्यकता भएको उनको ठहर छ । ‘जनसंख्या वृद्धिले जैविक विविधता भइरहेको छ । जलवायु परिवर्तन औद्योगिक करणले भइरहेको छ । यसले जमिन, वायु, जललगायत सबै क्षेत्र प्रदूषित तुल्याइरहेको छ । यसले नेपाल मात्र नभएर विश्वमै महासंकट ल्याउने आंकलन गरिदै छ ।त्यसैले यससँग जुध्नका लागि युवालाई दिइने शिक्षा पनि यसैको आधारमा हुनुपर्छ,’ महरले भने । नेपालका युवाका लागि स्थापना गरिएको सर्टिफिकेट धितो राखेर रिण लिने व्यवस्थाको कार्यान्वयन नहुँदा र युवा स्वरोगारको प्रभावकारिता नहुँदा अन्योलता थपिएको महरले भने ।
एउटा सिटिजन साइन्सका रुपमा युवाले प्राकृति संकटसँग जुध्न भूमिका निर्वाह गर्नुपर्ने र विज्ञान, प्रविधिको उचित ज्ञानले भरिपुर्ण हुनुपर्ने महरले औंल्याएका छन् । युवाले मेरो र मेरो सन्ततिको भविष्यका लागि भन्दै समाजमा सचेतना जागृत गर्नुपर्ने र आफैँ सक्रिय हुनुपर्ने महरले बताए ।
नेपालले निर्माण गर्न लागेको युथ भिजन २०३५ ले यस्तो खाले संकटसँग जुध्न प्रस्ट खाका कोर्नुपर्ने उनको धारणा छ । ‘अबको युवालाई प्रविधि युक्तसमेत बनाउनुपर्छ । जेनजी पुस्तालाई सक्षम बनाउन सरकारको नीति तथा कार्यक्रममा आएको बढ्दै पढाउँदै अवधारणालाई समेत कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।
युवाका लागि चाहिने खेलकुद, शिक्षा, स्वास्थ्य, रोजगार, मनोरञ्जन राज्यले दिनुपर्ने महरले बताए । युवा पनि राष्ट्रप्रेमले ओतप्रोत हुन आवश्यक रहेको उनले औंल्याए । ‘दिनहुँ समय फेरिँदो । आधुनिकीकरण बढ्दो छ । युवालाई सोहीअनुरुपको शिक्षा दिँदै विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको हुन प्रेरित गर्नुपर्छ । उनीहरूलाई वातावरण सन्तुलनमा पनि प्रेरित गर्नुपर्छ,’ महरले भने ।
उनले पाठ्यक्रम नै युवामैत्री हुनुपर्ने बताएका छन् । विश्वमा व्याप्त समस्या समाधानमा युवाहरूले कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने ज्ञान पाठ्यक्रममै समाविष्ट हुनुपर्नेमा महरको जोड छ ।