
सरकारले नेपाल स्मार्ट सहरसम्बन्धी सूचकहरू स्वीकृत गर्ने निर्णय गरेको छ ।
वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल स्मार्ट सहरसम्बन्धी सूचकहरू २०८१ लाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
यस्तै शिक्षक महासंघसँग सहमति गरेसँगै वैशाख १७ गते बसेको मन्त्रिपरिषद्ले उनीहरुका मागलाई पनि सम्बोधन गर्न विभिन्न निर्णय गरेको छ ।
जसअनुसार शिक्षक तथा विद्यालय कर्मचारीलाई काठमाडौंमा रहेको निजामती अस्पतालमा उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने, अस्थायी प्रकृतिका शिक्षकको बिरामी बिदा सञ्चित हुने र त्यसबापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रुपमा प्रदान गर्नेलगायत ९ वटा बुँदामा निर्णय गरेको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएकाले निजको सट्टा उक्त समितिका पूर्वगभर्नरहरूमध्येबाट महाप्रसाद अधिकारी सदस्य रहनेगरी सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
बैठकले वन तथा वातावरण मन्त्रालयअन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशस्त्र वन रक्षकलाई समेत पोसाक उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै नेपाल हज समिति (गठन तथा सञ्चालन) आदेश २०८१ स्वीकृत गर्ने र स्वस्थ्य बिमा (पहिलो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।
त्यस्तै जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौंडा सिमेन्ट उद्योग, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि गरी ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।