
संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार साँझ छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी छनोटसम्बन्धी सिफारिस (सर्टलिस्ट) लगायतका विषयमा कुराकानी भएको छ।
प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलका अनुसार छलफलमा अहिलेसम्मका प्रगति र बाँकी रहेका कामलाई अघि बढाउने विषयमा विचारविमर्श गरिएको छ ।
छलफलमा सहभागी भएका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रक्रिया सकारात्मक दिशामा अघि बढेको प्रतिक्रिया दिए । उनले भने, ‘खासगरी यो प्रक्रिया कहाँसम्म पुगेको हो भन्नेबारे प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई जानकारी दिनुभएको रहेछ । हामीले प्रक्रियालाई सकारात्मक रूपमा अघि बढिरहेको पाएका छौं ।’
वर्षौंदेखि अधुरो रहेको संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने उद्देश्यले सरकार सक्रिय देखिएको छ । आयोगका पदाधिकारी चयनको प्रक्रिया अघि बढेसँगै अब दलहरूबीच सहमति र समन्वय आवश्यक हुने देखिएको छ ।