कन्चनपुर, वैशाख २२ :

महाकाली पुल क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणाका लागि सिफारिस गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भत्किएको गाइड बन्ड क्षेत्र निकै संवेदनशिल रहेकाले त्यसको अस्थायी मर्मतका लागि महाकाली पुल क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो ।

महाकाली नदीमा भत्किएको गाइड बन्ड निर्माणमा ढिलाई हुँदा सो क्षेत्र वरिपरिका बस्तीहरुमा समेत जोखिम बढेको छ ।  

बैठकले बर्खा अगावै गाइड बण्ड निर्माणका काम नगरे त्यसले महाकाली पुल,पुलको पहुँच मार्ग र नदी नियन्त्रण संरचनामा क्षति भई आसपासका बस्तीमा समेत जोखिम निम्तिन सक्ने आँकलन गरिएको छ । साथै  नदीको बीच भागमा थुप्रिएको नदीजन्य पदार्थ हटाउन र भत्किएको गाइड बण्ड निर्माणका लागि समेत अनुरोध गरिएको  छ ।

मनसुन भित्रिन केही हप्ता मात्रै बाँकी रहेको र वर्षा अगावै छोटो अवधिमा बढी जनशक्ति तथा उपकरण आवश्यक हुने भएकाले विपद् जोखिम न्यूनीकरण तथा व्यववस्थापन ऐन २०७४ को दफा ३२(१) बमोजिम विपद् संकट क्षेत्र घोषणाका लागि सिफारिस गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

गतवर्ष भदौमा महाकाली नदीमा आएको बाढीले निर्माणाधीन पक्की पुलको गाइड बण्ड भत्किएको थियो । उक्त गाइड बण्ड निर्माणका लागि गृहमन्त्री,भौतिक पूर्वाधारमन्त्री, सचिव तथा विभागीय प्रमुखसहितको टोलीले यसअघि नै स्थलगत अनुगमन गरिसकेका छन् ।तरपनि हालसम्म पुर्ननिर्माणको काम अगाढि बढ्न सकेको छैन् ।  

२०७४ मा तीन वर्षमा निर्माण सक्ने गरी सुरु गरिएको पक्की पुलको बाढीले हरेक वर्ष विभिन्न संरचना भत्काउने गरेको छ ।