काठमाडौं, वैशाख २२ :

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको मृत्यु प्रकरणमा सरकारलाई सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको ध्यानाकर्षणलाई सम्बोधन गर्दै सभामुख घिमिरेले घटनाप्रति सदनको गम्भीर चासो रहेको स्पष्ट पारे । उनले विदेशमा उज्यालो भविष्यको सपना लिएर गएका नेपाली विद्यार्थीहरूको मृत्यु एकपछि अर्को घट्नुले राष्ट्रको संवेदनशीलता र जिम्मेवारीप्रति गम्भीर प्रश्न खडा भएको बताए ।

सभामुख घिमिरेले सरकारलाई उक्त घटनाको सत्यतथ्य यथाशिघ्र पत्ता लगाउन, सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक संवाद अघि बढाउन र पीडित परिवारलाई न्यायिक सहयोग पुर्‍याउन रुलिङ गरेका छन् । साथै, उनले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक नीतिगत तथा व्यवहारिक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरेका छन् ।

‘विदेशमा अध्ययनरत नेपाली विद्यार्थीका लागि सुरक्षित वातावरण सिर्जना गर्नु राज्यको जिम्मेवारी हो,’ सभामुख घिमिरेले भने, ‘यो घटनाले हाम्रो शिक्षा प्रणाली, विदेश अध्ययन नीति र कूटनीतिक सक्रियतालाई समेत पुनर्विचार गर्नुपर्ने अवस्था देखाएको छ ।’

घटनाको निष्पक्ष छानबिनका लागि नेपाली कूटनीतिक नियोगमार्फत पहल थालिएको भए पनि सदनको निर्देशनपछि यसमा थप गम्भीरता देखिने अपेक्षा गरिएको छ । विद्यार्थी साहको निधनबारे थप विवरण आउन बाँकी रहेको अवस्थामा संसदबाट आएको निर्देशनले सरकारको सक्रियता बढ्ने संकेत देखिएको छ ।