काठमाडौं, वैशाख २२ :

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टीका संरक्षक रेशमलाल चौधरी पक्राउबारे जवाफ दिन सरकारलाई भोलिसम्मको समय (अल्टिमेटम) दिएको छ ।

प्रतिनिधिसभाको सोमबारको  बैठकमा नागरिक उन्मुक्तिका लालवीर चौधरीले प्रधानमन्त्री वा गृहमन्त्रीले त्यसबारे भोलिसम्म जवाफ नदिए सरकार छाड्ने चेतावनी दिए । ‘यसबारेमा अहिलेसम्म सरकारको धारणा आएको छैन,’ उनले भने, ‘त्यसैले भोलिकै दिनमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौं ।’

जनमत पार्टी र नागरिक उन्मुक्तिबीच एकता गर्न वैशाख १७ मा आयोजना गरिएको कार्यक्रममा पुगेका रेशमलाई प्रहरीले पक्राउ गरेको थियो ।

सर्वोच्चको पत्रका आधारमा उनलाई पक्राउ गरे पनि उक्त पत्र सर्वोच्चका अधिकृत महिमानसिंह विष्टले अनाधिकृत रुपमा लेखेको खुलेको थियो । पछि सर्वोच्चले उक्त पत्रको खण्डन गर्दै रिहाइका लागि अर्को पत्र लेखेपछि रेशम छुटेका थिए । अहिले महिमान प्रहरी नियन्त्रणमा छन् ।