
भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज लखनउमा भेटवार्ता भएको छ।
लखनउस्थित मुख्यमन्त्री निवासमा भएको उक्त भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हितका विषयहरू, तथा सीमावर्ती प्रदेशहरूको समन्वय र सहकार्यबारे छलफल भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ।
यसअघि मुख्यमन्त्री शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग देहरादूनमा भेटवार्ता गरेका थिए। देहरादूनमा भएको उक्त भेटमा समेत आपसी सम्बन्ध, सांस्कृतिक, धार्मिक र सामाजिक समानताका विषयमा विशेष छलफल भएको थियो।
मुख्यमन्त्री शाहले उत्तराखण्डका राज्यपाल गुरमित सिंहसँग पनि छुट्टै शिष्टाचार भेट गरेका थिए।
मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय प्रतिनिधिमण्डल भारत सरकारको औपचारिक निमन्त्रणामा यही वैशाख १६ गते भारत भ्रमणमा गएको हो। उक्त प्रतिनिधिमण्डल आजै साँझ धनगढी फर्किने कार्यक्रम रहेको छ।
यात्राका क्रममा मुख्यमन्त्री शाहले भारतका दुई प्रमुख सीमावर्ती प्रदेशहरूसँग सम्बन्ध सुदृढ पार्ने उद्देश्यले विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका हुन्।