मकवानपुर, वैशाख २३ :

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ गैरीगाउँमा गाडी भासिएर हराएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन सुरु गरेको छ । अध्ययनका लागि टोली आजै हेटौंडा पुगेको हो । 

उक्त टोलीले घटनास्थलमा औपचारिक रूपमा अध्ययन सुरु गरेको छ । टोलीले उक्त स्थानको भूगर्भीय बनावट,माटोको तह,भूमिगत जलस्रोत तथा चुम्बकीय क्षेत्रको अध्ययन गर्ने भूगर्भविद् नारायण अधिकारीले बताउनुभयो ।

शुक्रबार गैरीगाउँको भित्री सडकमा रोकिराखिएको ना ४ च ४८३३ नम्बरको सिंगल क्याप बलेरो गाडी जमिन भासिएर अचानक बेपत्ता भएको थियो।

लगातार तीन दिन खोजी गर्दा पनि गाडीको अवस्था पत्ता नलागेपछि  भूगर्भविद्हरूले अध्ययन सुरु गरेको हो ।