काठमाण्डौं, वैशाख २३ :

परराष्ट्र मन्त्रालयले डा.शेष घलेको नेतृत्वमा सम्पन्न गैरआवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशनपछि सर्वोच्च अदालतमा म्याद थपका लागि आफैंले दिएको निवेदन फिर्ता लिन पत्र मार्फत सर्वोच्चलाई आग्रह गरेको छ  ।

संघको महाधिवेशन सम्पन्न भइसकेको जनाउँदै मन्त्रालयले यसअघि पेश गरेको निर्देशन कार्यान्वयनको समय थप गर्न गरिएको निवेदन फिर्ता लिने प्रक्रिया अगाडि बढाएको हो ।

एनआरएनको महाधिवेशनले महेश श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिसकेको छ ।

मन्त्रालयले यसअघि सर्वोच्चबाट निर्देशनात्मक आदेश भएअनुसार ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्न दिएको समयावधि  ६ महिना थप्न सर्वोच्च अदालतमा २०८२  वैशाख ५ गते निवेदन दर्ता गरेको थियो ।

आजै बसेको मन्त्रीस्तरीय बैठकले निवेदन फिर्ता लिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अदालतको परमादेशमा गठित  डा.शेष घलेको नेतृत्वको उच्चस्तरीय समितिले एनआरएनएको महाधिवेशन तथा निर्वाचन सम्पन्न गरी नयाँ कार्यसमिति गठन गरिसकेको विवरण वैशाख २२ गते मन्त्रालयमा प्राप्त भएको परराष्ट्रले जनाएको छ ।

मन्त्रालयले सोही कार्यसमितिलाई वैधानिकता पनि दिइसकेको छ ।