
बेलायत र भारतबीच एक व्यापार सम्झौतामा सहमति भएको छ । यस सम्झौताले बेलायती कम्पनीहरूलाई भारतमा ह्विस्की,कार र अन्य उत्पादनहरू निर्यात गर्न सजिलो बनाउनेछ भने भारतको कपडा र फुटवेयर निर्यातमा कर कटौती गर्नेछ।
यो सम्झौता तीन वर्ष लामो वार्तापछि भएको हो । बेलायत सरकारले बेलायतमा अध्ययनरत भारतीय विद्यार्थीलगायत अध्यागमन नीतिमा भने कुनै परिवर्तन नगरिएको जनाएको छ ।
प्रधानमन्त्री सर केइर स्टार्मरले यसलाई ऐतिहासिक सम्झौताको रूपमा वर्णन गरेका छन् । गत वर्ष बेलायत र भारतबीचको व्यापार ४१ अर्ब पाउन्ड थियो । सरकारले यो सम्झौताले सन् २०४० सम्ममा उक्त व्यापारलाई प्रतिवर्ष थप २५.५ अर्ब पाउन्डले बढाउने बताएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो सम्झौतालाई महत्वाकांक्षी र पारस्परिक लाभप्रद ऐतिहासिक कोसेढुङ्गाको संज्ञा दिएका छन् ।
यो सम्झौताले हाम्रा दुवै अर्थतन्त्रमा व्यापार,लगानी,वृद्धि,रोजगारी सिर्जना र नवप्रवर्तनलाई उत्प्रेरित गर्न मद्दत गर्नेछ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।