जुम्ला, वैशाख २५ :

जुम्लाको गुठीचौर गाउँपालिका–१ का ४ सय ८० घरधुरी तीन महिनादेखि विद्युत विहिन भएका छन् ।  अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी,गढिगाउँ,मणि साँघु,डिल्लीकोट र मणि गाउँमा समस्या भएको स्थानीय परेक ऐडीले जानकारी दिनुभयो ।

गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ तर मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ ।

बिजुली अभावले बालबालिकाको पठनपाठन,मोबाइल चार्ज,कुटानी–पिसानी मिल र स्थानीय फर्निचर उद्योग लगायतमा असर परेको स्थानीयले बताएका छन् । 

आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको बताउनुभयो । गुठीचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि स्थानीय सरकारले  ३ लाख विनियोजन गरेको  र आवश्यक परे थप बजेटको व्यवस्थापन गरिने बताउनुभयो ।

अब चाँडै विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम हुने उहाँको भनाइ छ ।