मकवानपुर, वैशाख २५ :

हेटौँडा उपमहानगरपालिका १६ र १७ को सिमानामा पर्ने गैरी गाउँको सडकमा गत वैशाख १९ गते बलेरो जिप भासिएर बेपत्ता भएको घटना अध्ययनका लागि आएको टोली काठमाडौँ फर्किएको छ ।

भूगर्भविद्हरुको टोलीले जिप भासिएको स्थान वरिपरि बोरिङ गरेको पानी सङ्कलन गरी ल्याब परीक्षणका लागि   काठमाडौँमा फर्किएको हो । जोखिमयुक्त क्षेत्र पहिचानका लागि घटनास्थलका १० स्थान सहित वरपरका ७ स्थानबाट नमुना संकलन गरिएको छ । म्याग्रेटोमिटरको प्रयोगका आधारमा गाडी ६ मिटर गहिराईमा पुरिएको अनुमान गरिएको छ ।

टोली प्रमुख नारायण अधिकारीले उक्त स्थानवरिपरिको जमिनको अवस्था झन् भासिँदै गएकाले अनुसन्धान कार्यमा अवरोध देखिएकाले पानीको ल्याब परीक्षणबाट आएको रिपोर्ट अनुसार दोस्रो चरणको अनुसन्धान र खोजतलास गर्ने कार्यलाई तीव्रता दिइने बताउनुभयो ।  

टोलीले  मङ्गलबार र बुधबार उक्त स्थान वरिपरि खोजतलास गरिए पनि हालसम्म जिप फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामुल अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार भासिएको स्थान वरिपरि आवतजावत गर्न रोकी थप मानवीय र अन्य सवारीसाधनको क्षति हुन नदिन प्रहरीले  सुरक्षा घेरामा राखेको छ ।