
भारत प्रशासित कश्मीरको जम्मु शहरमा विस्फोटको आवाज सुनिएको भारतीय सेनाका प्रवक्ताले बताएका छन् ।
हामीसँग थप विवरण छैन,स्थिति पत्ता लगाउने प्रयास गर्दैछौं र अहिले ब्ल्याकआउट भएको छ उनले भने ।
जम्मु काश्मिर प्रहरीका पूर्व महानिर्देशक शेष पल वैदले एक्समा एक पोस्टमा भनेका छन् कि ठूलो विस्फोट,बमबारी गोलाबारी वा क्षेप्यास्त्र आक्रमणको आशंका गरिएको छ ।
प्रवक्ताले जम्मुको विमानस्थललाई निशाना बनाइएको छ कि छैन भन्ने बारे टिप्पणी गर्न हतार हुने बताएका छन् ।
धेरै विस्फोटको आवाज सुनिएको प्रवक्ताले पुष्टि गरेको सीएनएनले उल्लेख गरेको छ ।
यसैबीच भारतले पाकिस्तानी भूमिमा गरेको हवाई आक्रमणका क्रममा पाकिस्तानी सेनाले भारतीय विमान खसालेको अमेरिकाले आकलन गरेको एक वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन् ।
पाकिस्तानी सेनाले भारतीय विमान खसाल्न कुन हतियार प्रयोग गरेको थियो भन्ने बारे अमेरिकाले पुष्टि गरेको छैन ।
पाकिस्तानले भारतीय आक्रमणको बदलामा भारतीय वायु सेनाका पाँच वटा विमान खसालेको दाबी गरेको छ । भारतीय अधिकारीहरूले यस दाबीको जवाफ दिएका छैनन्।
भारतले पाकिस्तान र पाकिस्तान प्रशासित काश्मिरमा आक्रमण गरेपछि भारत र पाकिस्तान व्यापक द्वन्द्वको संघारमा पुगेका छन् । गत महिना भारत प्रशासित काश्मिरमा भएको पर्यटक नरसंहारपछि भारतले 'आतङ्कवादी संरचना'लाई निशाना बनाएको बताएको छ ।