
नेपाली कांग्रेसले आतंकवादको खिलापमा हुने कारबाही जायज भएको निष्कर्ष निकालेको छ । कांग्रेसले आफू कुनै पनि किसिमका आतंकवादविरुद्धका पक्षमा रहेको बताएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले भारत-पाकिस्तावबीचको तनावबारे छलफल गर्दै आतंकवादको खिलापमा हुने कारबाही जायज भएको निष्कर्ष निकालेको हो ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आतंकवादलाई कसैले पनि प्रशय नदियोस् भन्ने पक्षमा आफूहरु रहेको जिकिर गरे । ‘भारत र पाकिस्तानको बीचमा जुन द्वन्द्व चर्किएको छ । त्यसअघि भारतको पहलगाममा जुन आतंकवादी आक्रमण भयो । लक्षित किसिमबाट निहत्था नागरिकहरूमाथि आक्रमण भएर मारिए,’ उनले भने, ‘त्यसको नेपाली कांग्रेसले कडा शब्दमा निन्दा पनि गरेका छौं । पछिल्लो समयमा पनि जुन परिस्थिति छ, हामी जहिले पनि आतंकवादको खिलापमा छौँ । आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्छौँ ।’
महतले आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको भन्दै दुई देशबीचको तनाव युद्धको रुपमा परिणत नहोस् र शान्ति बहाल होस भन्ने पक्षमा रहेको बताए ।
‘आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौं । युद्धको स्थिति सिर्जना भएको छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको छ । सैनिक अड्डाहरूमा पनि आक्रमण भएको छ,’ प्रवक्ता महतले भने, ‘यो फुलस्केल युद्धका रूपमा परिणत नहोस् । शान्ति चाँडै बहाल होस्, भन्ने हामी चाहन्छौं । हामी आतंकवादको खिलापमा छौँ । आतंकवादलाई निरुत्साहित गर्नेतर्फ हामी छौं ।’
उनले भारत र पाकिस्तानबीच जारी द्वन्द्वका क्रममा निहत्था नागरिकविरुद्ध भइरहेको आक्रमणको पार्टीले निन्दा गरेको पनि जनाए ।
बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगको संरचनालाई पूर्ण बनाएर यसलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले जानकारी दिए । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई निष्पक्ष ढंगले निष्कर्षमा पुर्याउने गरी आयोग अघि बढ्नुपर्ने निष्कर्ष रहेको पनि उनले जानकारी दिए ।