
भारत र पाकिस्तानले युद्धविराममा सहमति जनाएको केही घण्टापछि दुवै देशले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
कश्मीरमा विस्फोटको आवाज सुनिएपछि भारतका विदेश सचिव विक्रम मिश्रीले समझदारीको बारम्बार उल्लङ्घन भएको बताएका छन् । केही समय पछि पाकिस्तानको विदेश मन्त्रालयले पनि भारतले केही क्षेत्रहरूमा उल्लङ्घन गरिरहेको आरोप लगाएको छ । तर पनि युद्धविरामको इमान्दारीपूर्वक कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएको छ।
पछिल्ला चार दिनमा भारत र पाकिस्तानबीच भएको लडाई दशकौंमा दुई प्रतिद्वन्द्वीहरू बीचको सबैभन्दा खराब सैन्य भिडन्त भएको छ । गत महिना पहलगाममा भएको घातक आतंकवादी आक्रमणको प्रतिक्रियामा भारतले पाकिस्तान र कश्मीरलाई लक्षित गरी आक्रमण गरेपछि ड्रोन, क्षेप्यास्त्र र तोपखानाको प्रयोग सुरु भएको थियो। पाकिस्तानले भने पहलगाम आक्रमणमा कुनै पनि संलग्नता अस्वीकार गरेको थियो ।
चार दिनसम्म सीमापार आक्रमण पछि भारत र पाकिस्तानले पूर्ण र तत्काल युद्धविराममा सहमत भएको बताएकम छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहान आफ्नो सामाजिक प्लेटफर्ममा युद्धविराममा सहमतिका लागि अमेरिकाले मध्यस्थता गरेको भनेका छन् । पाकिस्तानका विदेशमन्त्रीले पनि पछि दुई देशहरूबीच सम्झौता भएको पुष्टि गरेका थिए । सहमति गर्ने क्रममा तीन दर्जन देशहरू कूटनीतिमा संलग्न रहेको बताईएको छ । तर घोषणाको केही घण्टा पछि कश्मीरी शहर श्रीनगर र जम्मूका बासिन्दाहरूले विस्फोटको आवाज सुनेको र आकाशमा चमक देखेको बताएको बीबीसीले जनाएको छ ।