
चितवन, वैशाख २८ :
नारायणघाट-मुग्लिन सडक खण्डको तुईन खोला भन्ने स्थानमा ट्रक पल्टिँदा पूर्ण रुपमा अवरुद्ध बनेको सडक एकतर्फी संचालनमा आएको छ ।
आज बिहान करीब ७ बजे कोइला लोड गरेको वीरगन्जबाट काठमाडौँ आउदै गरेको ट्रक पल्टिदा सो सडक खण्ड अवरुद्ध बनेको थियो ।
अहिले साना सवारी साधन मात्रै संचालनमा आएको प्रहरीले जनाएको छ ।
ट्रक आफैँ अनियन्त्रित भई पल्टिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फि खुला गरिएको र दुर्घटनामा मानवीय क्षति नभएको उहाँले बताउनुभयो । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ ।