काठमाडौं, वैशाख २८ :

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट वितरणमा असमानता देखिए सत्तारूढ दलभित्रैबाट असन्तोष चुलिन सक्ने चेतावनी दिएका छन् ।  

प्रतिनिधिसभाको आइतबार बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले सबै निर्वाचन क्षेत्रलाई समानुपातिक रूपमा समेट्नेगरी बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरे।

‘छिट्टै बजेट आउँदैछ,’ सांसद खतिवडाले भने, ‘म मन्त्रीज्यूहरूलाई अनुरोध गर्छु यदि कुनै मन्त्रीको क्षेत्रमा बढी र अरू माननीयहरूको क्षेत्रमा कम भयो भने बजेट च्यात्ने अवस्था नआओस्।’

उनले बजेट बनाउँदा केवल मन्त्रीहरूको पक्षमा नझुकी समावेशी र समानुपातिक पद्धतिमा आधारित प्रणालीबाट सबै सांसदहरूको क्षेत्रलाई समेट्नुपर्ने धारणा राखे।

‘नीति तथा कार्यक्रम राम्रो आएको छ,‘ खतिवडाले भने, ‘अब बजेट पनि त्यसकै आधारमा सबैतिर सन्तुलित रूपमा बाँड्ने प्रक्रिया सुरु होस्।’

सांसद खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै राखेर निवास मात्र फरक बनाउनुपर्ने प्रस्ताव पनि राखे। उनले खर्च कटौतीका लागि यस्तो संरचनात्मक सुधार आवश्यक रहेको बताए। ‘राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै भए कर्मचारी व्यवस्थापन पनि सहज हुन्छ, र खर्च कटौतीमा टेवा पुग्छ,’ उनको भनाइ थियो।

साथै उनले सार्वजनिक ऋणको भार दिनानुदिन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। ‘अहिले ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था छ, यस्तो बेला साधारण खर्च राजस्वबाट धान्न पनि सक्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले खर्च घटाउने उपायमा प्राथमिकता दिनुपर्छ।’ सांसद खतिवडाले संसदप्रति नागरिकको विश्वास कायम राख्न संसदलाई सक्रिय बनाउने काममा सरकार लाग्नुपर्ने धारणा समेत राखे।