काठमाण्डौं, वैशाख २९ :

राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले पच्चीस सय ६९ औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा,आराधना गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गर्नुभएको थियो । बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित अस्तुधातु दर्शनका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित बौद्ध पुग्नुभएको थियो ।

बुद्धजयन्तीका अवसरमा आज बिहानैदेखि बौद्ध क्षेत्रमा अस्तुधातु दर्शन गर्ने भक्तजनको भीड लागेको छ । बुद्धजयन्तीका अवसरमा आज बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराइएको छ । श्री बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठीले बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराउने व्यवस्था मिलाएको हो ।