काठमाडौं, वैशाख २९ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि भएको बताएका छन् ।

२५६९औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८२ को मूल समारोहमा सोमबार उनले यस्तो बताएका हुन् । ‘लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि हो । बुद्ध समस्त मानवताको साझा ज्योति हुनुहुन्छ । उहाँको ज्ञान कल्याणकारी छ। सबै प्राणीको हितका लागि प्रज्वलित छ,’ उनले भने । उनले बुद्ध करुणा, ज्ञान, सद्भावजस्ता शाश्वत शिक्षाले जीनलाई सत्मार्ग र विश्व शान्तिको सन्देश विश्वभर फैलाउन सकिएको धारणा राखे ।

मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मनन केन्द्रका रूपमा पहिचान गराउन सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए । उनले लुम्बिनीको बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुन: सक्रिय बनाउने विश्वास दिलाए ।

‘हामीबीच रहेका विभिन्न, धर्म, संस्कृति वा भिन्नताभन्दा माथि उठेर विश्व शान्तिको चिन्तन गरी सम्पूर्ण मानवजाति कल्याणको कल्याणको कामना गर्ने पावन भूमिको रूपमा स्थापित रहेको छ,’ मन्त्री पाण्डेले भने, ‘लुम्बिनीका लागि हामीले चाल्ने प्रत्येक कदम सावधानी र सम्मानमा लागि अघि बढाउँदै यसको दिव्यता र पवित्रतालाई पुस्तौंसम्म कायम गर्नु हाम्रो साझा कर्तव्य हो ।’

मन्त्री पाण्डेले भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील भएर लागेको छ । काठमाडौंबाहिर रहेका भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि बनेको कार्ययोजना तयार भई लागु भए पनि कार्यान्वयनमा अझै केही समस्या रहेको बताए ।

उनले आगामी जेठ ७ गते प्रधानमन्त्रीसहित अन्तरमन्त्रालयको बैठक बसी समस्या समाधान गरिनेसमेत विश्वास व्यक्त गरे ।