
काठमाडौँ महानगरपालिकाले ‘मानसिक स्वास्थ्य नीति’तर्जुमा गर्न थालेको छ । यसका लागि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने सम्बन्धित सङ्घसंस्था,स्वास्थ्यकर्मी,पुनःस्थापना केन्द्रका प्रतिनिधिसँग छलफल गरिएको महानगरले जनाएकको छ ।
मानसिक स्वास्थ्य समस्या न्यूनीकरण,पहिचान,निदान तथा उपचारका लागि नीति निर्माण गरिने महानगर स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिनुभयो । अन्य क्षेत्रमा लगानी भए पनि मानसिक स्वास्थ्य क्षेत्र प्राथमिकतामा नभएकाले यसलाई महानगरले नीतिबाटै सम्बोधन गर्न लागेको उहाँले बताउनुभयो । “स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा मानसिक समस्याको पहिचान गर्ने, निदान र उपचार गर्ने योजना बनाइएको छ । आउँदो आर्थिक वर्षदेखि वडाहरूमा सेवा प्रवाह थाल्ने छौँ”,महर्जनले भन्नुभयो ।
महानगरका स्वास्थ्य सल्लाकार डा मणिन्द्र गोर्खालीले विज्ञबाट प्राप्त सुझाव ग्रहण गरेर हाल देखिएका मानसिक स्वास्थ्य समस्या र आगामी दिनका सम्भावित जोखिम पूर्वानुमान गरेर नीति तर्जुमा गरिने बताउनुभयो । महानगर स्वास्थ्य विभागका प्रमुख दीपक केसीले,शारीरिक स्वास्थ्य परीक्षणजत्तिकै सरल,सहज र पहुँचयुक्त मानसिक स्वास्थ्य परीक्षण संयन्त्र निर्माण गर्ने दिशामा काम भइरहेको बताउनुभयो ।
अब तर्जुमा गरिने मानसिक स्वास्थ्य नीतिमा रुपान्तरित व्यक्ति,परिवार,समाजको अवस्था र व्यवस्था,उमेरजन्य परिस्थितिजस्ता पक्ष समेट्नेगरी नीति तर्जुमा गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
सन् २०२२ मा विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको प्रतिवेदनअनुसार हरेक आठ जनामध्ये एक जना व्यक्तिमा मानसिक समस्या हुने गरेको छ ।