
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत पोखरामा आगामी जेठ १० गते जनसभा गर्ने भएको छ ।
जेठ २ गते बैतडीको पाटनबाट सुरु हुने उक्त अभियान जेठ ८ गते लुम्बिनी प्रदेशको पूर्वीरूकुम हुँदै गण्डकी प्रदेशको बागलुङ प्रवेश गर्ने सो पार्टीले जनाएको छ ।
जेठ ८ र ९ गते गरी बागलङका तीन स्थानमा जनसंवाद कार्यक्रम तय गरिएको माओवादी केन्द्र बागलुङले जनाएको छ । पहिलो दिन बुर्तिबाङ र गलकोटमा जनसंवाद कार्यक्रम हुने माओवादी केन्द्रका जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिनुभयो ।
अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्षनेताहरू जनभेटघाट,अन्तरक्रियालगायत कार्यक्रममा सहभागी हुने जनाइएको छ । सहिद,बेपत्ता र घाइतेजनका परिवारलाई पनि भेट्ने कार्यक्रम तय भएको संयोजक घिमिरेले बताउनुभयो ।
माओवादी केन्द्रले लोकमार्गका प्रत्येक प्रदेशमा एक–एक वटा जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक–एक अन्तरसंवाद गर्नेगरी अभियानको तयारी गरेको हो । उक्त अभियान जेठ महिनाभर चल्न सो पार्टीले जनाएको छ ।