
नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटक बस व्यवसायी संघ नेपाल (टिबान) का २२ जना सदस्यको टोलीले रारा क्षेत्रको अवलोकन भ्रमण गरेको छ ।
काठमाडौं-रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले गरिएको यस भ्रमणका क्रममा मुगुको सल्लेरीमा सोमबार अन्तर्क्रिया आयोजना गरिएको हो । जसमा नेपाल पर्यटन बोर्ड, पर्यटक बस व्यवसायी, स्थानीय समुदाय, मुगुका होटेल व्यवसायी, रारा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायको सहभागिता थियो ।
कार्यक्रममा स्थानीय छत्र साउदले रारालाई प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दै यसले स्थानीय जीवनस्तर र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
रारामा होटेल व्यवसाय गर्दै आएका देवीकृष्ण रोकायाले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि आवश्यक रहेको बताए । उनले भने, ‘हामी काम सिक्दै छौं, विकास भइरहेको छ । हामी स्थानीयस्तरबाट सुझाव दिन तयार छौं, तर तालिम, प्रशिक्षण र स्तरीय होटेल पूर्वाधारका लागि थप सहयोग आवश्यक छ ।’
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भने, ‘रारा अब पछाडि परेको गन्तव्य होइन । संरचनागत रूपमा धेरै विकास भइसकेको छ । खाना-बस्नको राम्रो व्यवस्थासँगै नियमित जहाज र सडक सञ्जालले सुगम बनाएको छ । रारा इको-टुरिज्म र चलचित्र छायांकन लागि उत्कृष्ट गन्तव्य हो । हामीले यो क्षेत्रका अझ बढी सम्भावना अन्वेषण गर्नुपर्छ र विश्वभरका पर्यटकहरूलाई यहाँ ल्याउन पहल गर्नुपर्छ ।’
उनले थपे, ‘सबै काम एकैचोटि सम्भव छैन, तर सकारात्मक सोच र दृढ इच्छाशक्ति आवश्यक छ । रारा क्षेत्रको समग्र पर्यटन विकासका लागि हामी मानव स्रोतमा लगानी गर्न तयार छौं । तालिम, जनशक्ति विकास र प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड प्रतिबद्ध छ ।’
पर्यटक बस व्यवसायी संघ नेपाल (टिबान) का अध्यक्ष भीष्म न्यौपानेले रारा क्षेत्रमा पर्यटक बस सञ्चालन गर्दा केही चुनौती भए पनि संघ तयार रहेको बताए । उनले भने, ‘सडक छेउका होटेलहरू व्यवस्थित गर्न जरुरी छ र स्थानीय बासिन्दामा हस्पिटालिटी सेवामा सुधार ल्याउन आवश्यक छ ।’
उनले रारा क्षेत्रको पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै लगानीको वातावरण निर्माणमा सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल पर्यटन बोर्डले काठमाडौं-रारा पर्यटक बस सेवा सञ्चालनको सम्भाव्यता र यससँग सम्बन्धित पूर्वाधार विकासमा आवश्यक समन्वय गर्न प्रतिबद्धता जनाएको छ । साथै, रारा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि होटेल स्तरोन्नति, स्थानीय जनशक्ति तालिम, पर्यटक सेवा सुधार तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार-प्रसारलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।