मकवानपुर, वैशाख ३१ :

हेटौँडा उपमहानगरपालिका-१६ गैरीगाउँमा जमिन भासिएर गाडी हराएको घटनाको प्रमुख कारण जमिनमुनिको सिल्ट मिश्रित पानीको निष्कासन रहेको देखिएको छ ।

खानी तथा भूगर्भ विभागको टोलीले गरेको  प्रारम्भिक अध्ययनको प्रतिवेदनले हाल भासिएको स्थानमा पाँच वर्ष अघि खनिएको बोरिङ रहेको र बोरिङबाट लामो समयसम्म सिल्ट मिश्रित धमिलो पानी निरन्तर निष्कासित हुँदै आएको देखाएको  छ ।

यही प्रक्रियाले जमिनभित्र स–साना भ्वाङहरू बनाउँदै गएको र अन्ततः जमिनमाथि निरन्तर भार रहँदा त्यो भासिएर ठूलो खाडलमा परिणत भएको पाइएको छ ।

सिन्कहोलको केन्द्रदेखि भासिएको सडकको पूर्वी भागमा ४ देखि २ मिटरको क्षेत्रफलमा उच्च चुम्बकीय असामान्यता देखाएको र यो संकेत भासिएको गाडीको सम्भावित स्थानसँग मिल्दोजुल्दो देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संकलन गरिएको माटोको नमूना परिक्षण नतिजा अनुसार अध्ययनले जमिनको अवस्था कमजोर देखाएको  छ । जमिनको सतहभन्दा करिब ५ मिटरमुनि भूमिगत जल सतह रहेको देखिएको छ ।

विशेषज्ञहरूका अनुसार जमिन भासिएको स्थानभित्र रहेको माटोको संरचना खुकुलो र कमजोर भएकाले थप अध्ययन विना एक्स्काभेटर वा क्रेन प्रयोग गरेर गाडी निकाल्न जोखिमपूर्ण हुने बताइएको छ ।

जमिनको भारवहन क्षमता कमजोर रहेकाले विस्तृत इन्जिनियरिङ योजना, थप अध्ययन तथा विशेषज्ञको निगरानीमा मात्र उत्खनन् गर्नुपर्ने सुझाव समेत भूगर्वविदहरुले दिएका छन् ।

घटनास्थलबाट संकलित नमूनाको परीक्षण लैनचौरस्थित खानी तथा तथा भूगर्भ विभागको जियोटेक्निकल प्रयोगशालामा गरिएको थियो ।